महाराजगन्ज, काठमाडौँमा बस्ने मंगली तामाङ, २९, का तीन सन्तान छन्। कान्छो छोरा नै सात वर्षका भइसके। पिसाब परीक्षणमा गर्भ रहेको देखिएपछि गत असारमा उनले चाबहिलको एक निजी क्लिनिकमा गर्भपतन गराइन्। साउनको अन्तिममा पुनः रक्तश्राव हुन थाल्यो। सुरुमा महिनावारी भएको होलाजस्तो लाग्यो। पिसाब जाँच्दा पुनः गर्भ रहेको ठहर भएपछि मेरी स्टोप्स क्लिनिक भरतपुरमा ३ भदौमा दोस्रोपटक पाठेघर सफा (क्युरेट) गराइन्। अलिअलि रक्तश्राव भइरह्यो। सामाखुसीको एक निजी क्लिनिकमा असोजमा तेस्रोपटक पाठेघर सफा गराइन्। बीचमा केही दिन रक्तश्राव रोकिए पनि पुनः बल्भिmयो। क्लिनिककै डाक्टरले मंगलीलाई एक प्रकारको क्यान्सर जेस्टेस्नल ट्रोफोब्लास्टिक हुन सक्ने बताए। थप उपचारका लागि प्रसूति गृह पठाइयो।

दाङकी सीता सेजुवाल, २३, को कथा पनि उस्तै छ। कात्तिकमा महिनावारी रोकिएपछि गर्भ रहेको भनेर उनले घोराहीमा पुस र माघमा दुईपटक पाठेघर सफा गराइन्। रक्तश्राव नरोकिएपछि नेपालगन्ज पुगेकी सीतालाई जेस्टेस्नल ट्रोफोब्लास्टिक भएको ठहर भयो। र, उनलाई पनि सीधै काठमाडौँ पठाइयो।

जेस्टेस्नल ट्रोफोब्लास्टिक महिलामा हुने एक प्रकारको प्रजनन क्यान्सर हो। युरोपेली मुलुकमा प्रतिहजार गर्भमा ०.६ देखि १.१ जनामा देखिने यो समस्या एसियाली मुलुकमा बढी अर्थात् प्रति पाँच सय गर्भमा एक जनामा देखिने गरेको छ। गर्भको साल (प्लासेन्टा)बाट जन्म लिने यो क्यान्सरमा एक किसिमको कोष (ट्रोफोब्लास्ट)को अनियन्त्रित वृद्धि हो। एकपटक जेस्टेस्नल ट्रोफोब्लास्टिक भएका महिलामा यो दोहोरनि सक्छ।

जुनसुकै उमेरका महिलामा यो हुन सक्ने भए तापनि कम उमेर -१५ वर्ष) वा बढी उमेर -३५ वर्ष)मा गर्भवती भएकामा जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज हुने सम्भावना बढी हुन्छ। त्यस्तै धूम्रपान गर्ने, भिटामिन 'ए'को कमी भएका, महिनावारी अनियमित हुने तथा गर्भपतन भएका महिलामा यस्तो समस्या हुने गरेको छ। प्रसूतिगृहका एसोसिएट प्रोफेसर डा मधु श्रेष्ठ भन्छन्, "एकपटक पनि गर्भवती नभएका महिलामा यस्तो समस्या देखिँदैन। तर, उनीहरूको गर्भ तुहिएको वा बिग्रेको पनि हुन सक्छ।"

जेस्टेस्नल ट्रोफोब्लास्टिक भएका ८४ प्रतिशत महिलामा अनियमित रक्तश्राव हुने गरेको पाइएको छ। उनीहरूमा अत्यधिक रक्तश्राव हुने, लामो समयसम्म महिनावारी भइरहने, शरीर कमजोर हुने, पहेँलो हुने, रंिगटा लाग्नेजस्ता समस्या आउन सक्छ। यस अवस्थामा ह्युमन कोरियोनिक गोनाडोट्रोपिन (एचसीजी) हर्मोन बढी हुने भएकाले पिसाबमा गर्भ परीक्षण गर्दा 'पोजेटिभ' देखिन्छ।

एकातिर रक्तश्राव हुने र अर्कातिर पिसाब परीक्षणमा गर्भ देखिनाले गर्भको बच्चा खेर गएको हुन सक्ने अनुमान गरेर अधिकांश अवस्थामा पाठेघर सफा गरेर बिरामीलाई घर पठाउने गरिन्छ। त्यसैले रोग पत्ता लगाउन ढिला हुने गरेको डा श्रेष्ठको भनाइ छ। त्यस्तै जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएका महिलाको पाठेघर ठूलो हुने, अत्यधिक बान्ता हुने, योनिबाट रक्तश्राव हँुदा रगतसँगै सेता स-साना अंगुरका जस्ता दाना देखिन सक्छ। कसैकसैलाई उच्च रक्तचाप र खुट्टा सुन्निने हुन सक्छ। यो रोग फोक्सो, कलेजो, मस्तिष्क, पेटजस्ता अन्य अंगमा फैलिन सक्ने भएकाले रोग फैलिसकेपछि अन्य जटिलता देखिन सक्छ।

रोगका लक्षणका आधारमा मात्र जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज भएको ठोकुवा गर्न सकिँदैन। यसका लागि बिरामीको पूर्ण परीक्षण गर्नुका साथै रगतमा एचसीजीको मात्रा, छातीको एक्स रे, भिडियो एक्सरे, रगतका साथै पाठेघर सफा गर्दा निकालिएका कोषहरूको परीक्षण गर्नुपर्ने हुन सक्छ।

सुरुमा बिरामीलाई लट्ठयाएर पाठेघर सफा गर्ने (सक्सन एन्ड इभ्याकुएसन) गरे तापनि रगतमा एचसीजीको मात्रा नियमित परीक्षण गर्नु र समयमै केमोथेरापी (क्यान्सरविरुद्धको औषधी) चलाउनु नियन्त्रणका उपाय हुन्। रोगको अवस्था, बिरामीको उमेर, क्यान्सर फैलिएको अवस्था तथा रगतमा एचसीजीको मात्राका आधारमा कम वा बढी खतरनाक समूह छुट्याएर यसको उपचार सुरु गरिन्छ। कम खतरनाक समूहमा परेका बिरामीलाई एक मात्र औषधी रहेको केमोथेरापी चलाउने भएकाले सस्तो पर्छ। यस समूहका बिरामीलाई एकपटकको उपचारमा औषधीको खर्च दुई हजारदेखि २ हजार ५ सय रुपियाँ पर्छ। बढी खतरनाक समूहमा परेका बिरामीको केमोथेरापीमा धेरै किसिमका औषधी प्रयोग गर्नुपर्ने भएकाले केही महँगो पर्छ। यस अवस्थामा पनि निको हुने सम्भावना अन्य क्यान्सरभन्दा बढी छ। डा श्रेष्ठ भन्छिन्, "समयमा रोग पत्ता लगाएर केमोथेरापी दिन सके शल्यक्रियाबिना नै शतप्रतिशत निको बनाउन सकिने क्यान्सर हो, जेस्टेस्नल ट्रोफोब्लास्टिक डिजिज।"